LANG: ENG | NEP

"अनौपचारिक भू-सम्बन्ध सम्बन्धी तालीम" सम्पन्न।

Published Date:28th-Apr-2021

भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन गठित भूमि सम्बन्धी समस्या समाधान आयोगले हालै करार सम्झौता गरी भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र, धुलिखेलमा "अनौपचारिक भू-सम्बन्ध सम्बन्धी तालीम" मा सहभागि हुन पठाएका १३० जना सर्भेक्षकहरु र २४२ जना अमिनहरु गरी ३७२ जनाको तालीम कार्यक्रम औपचारीक रुपमा आज सम्पन्न गरेको छ।


सो तालीम कार्यक्रम ३ पटकमा १४ समूह बनाई संचालन भएकोमा अन्तिम ५ समूहलाई आज विशेष कार्यक्रम सहित प्रमाणपत्र वितरण गरि तालीम सम्पन्न गरेको हो।हाल कोभिडको विषम परिस्थितीलाई मध्यनजर गरी विशेष स्वास्थ्य मापदण्ड पालना गर्दै प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरिएको हो।


समापन कार्यक्रममा केन्द्रका निर्देशक श्री रमेश ज्ञवालीले सहभागी अमिनहरुलाई कार्यक्षेत्रमा पुगेर अनुशासित भई सेवा प्रवाहमा चुस्तता ल्याउन जोड दिनुभयो। केन्द्रका कार्यकारी निर्देशक श्री नारायण रेग्मीले आफुले सिकेका विषयवस्तुहरुमा थप अभ्यास र अध्ययन सहित आफु खटिने स्थानिय तहमा आयोगको उद्धेश्य अनुरुपको कार्यहरु जिम्मेवारीका साथ निभाउन निर्देशन सहित वधाई तथा शुभकामना दिनुभयो।कार्यक्रममा केन्द्रका निर्देशक श्री राजेन्द्र राउत, श्री लेखनाथ दाहाल, कार्यक्रम संयोजकहरु तथा केन्द्रका कर्मचारीहरुको उपस्थिति रहेको थियो।


पहिलो लटमा १३० जना सर्वेक्षकहरुका लागि मिति २०७७ फागुन ११ देखि २५ गते सम्म ४ समूहमा तालीम कार्यक्रम संचालन गरिएको थियो। सो पश्चात २४२ जना अमिन सहभागिहरुको लागि पहिलो लटमा १२४ जनालाई मिति २०७७ चैत्र २३ गते देखि मिति २०७८ वैशाख ५ गते सम्म ५ समुहमा र दोस्रो लट ११८ जनाको लागि मिति २०७८ वैशाख ३ गते देखी बैशाख १६ गते तालीम संचालन गरिएको हो। हालको कोभिडको विषम परिस्थितिलाई मध्येनजर गर्दै एकदिन अगाडि वैशाख १५ गते नै प्रमाणपत्र वितरण गरि एकदिन विधुतिय माध्यमबाट तालीम संचालन हुने गरी कार्यक्रम सम्पन्न गर्ने व्यवस्था केन्द्रले गरेको हो।


दुई हप्ता अवधीको तालीम कार्यक्रममा भूमि सम्बन्धि समस्या समाधान आयोगको उद्देष्य बमोजिमको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासको व्यबस्थापन संग सम्बन्धित ऐन, नियम, कार्यविधि, अनुसुचिहरुको जानकारीहरु सहित जग्गा नापजांच तथा अभिलेख व्यबस्थापनका सैद्धान्तिक कक्षाहरु, फिल्डकार्यहरु तथा प्रयोगात्मक-ल्याव अभ्यास कक्षाहरु संचालन गरिएका थिए।