LANG: ENG | NEP

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको ५३ औं वार्षिकोत्सव समारोह सम्पन्न।

Published Date:15th-Jul-2021

वि.सं. २०२५ सालमा नापी तालीम केन्द्रको रुपमा स्थापित यस भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको ५३ औं वार्षिकोत्सव समारोह मिति २०७८ आषाढ ३०, वुधवारका दिन भर्च्युअल माध्यमबाट सम्पन्न भएको छ। उक्त समारोहमा काठमाण्डौं विश्वविधालयका उपकुलपति प्रा. डा.भोला थापा; भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव श्रीमान् टेकनारायण पाण्डे; नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका उप-कार्यकारी निर्देशक श्री नारायण गोपाल मलेगो; भूमि सम्बन्धी समस्या समाधान आयोगका विज्ञ सदस्य श्री जगत देउजा;  धुलिखेल नगरपालिका,  काभ्रेका प्रमुख श्री अशोक व्याञ्जू श्रेष्ठ; गौरीगंगा नगरपालिका, कैलालीका उप-प्रमुख श्री अञ्चला चौधरी, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सह-सचिव श्री जनकराज जोशी; भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक श्री शेषनारायण पौडेल, नापी विभागका उप-महानिर्देशक श्री अमिरप्रसाद न्यौपाने लगायतका विशिष्ट व्यक्तित्वहरुको गरिमामय सहभागिता रहेको थियो। त्यसैगरी यस केन्द्रका पूर्व कर्मचारी तथा प्रशिक्षार्थीहरू, हाल कार्यरत कर्मचारी तथा प्रशिक्षार्थीहरू एवम शुभेच्छुहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सो समारोहमा निर्देशन सहितको शुभकामना मन्तब्य दिनुहुँदै भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव श्रीमान् टेकनारायण पाण्डेज्युले प्राविधिक तथा प्रोफेशनल कोर्षहरुलाई उत्कृष्ट  बनाउने, आधुनिक प्रविधिमा आधारित प्रशिक्षण कार्यक्रमहरू संचालन गर्ने, प्रदेश र स्थानीय तहमा भूमि व्यवस्थापनको क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता विकास गर्ने, जग्गा प्रशासनसँग सम्बन्धित जनशक्तिको व्यवस्थापकीय क्षमता एवम् सदाचारिता अभिवृद्धिसंग सम्बन्धित कार्यक्रम संचालन गर्ने आदि तर्फ केन्द्रले थप पहल गर्न निर्देशन दिनुभयो ।

त्यसैगरी काठमाण्डौं विश्वविधालयका उपकुलपति प्रा.डा. श्री भोला थापाले सो क्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै यस केन्द्र र काठमाण्डौं विश्वविद्यालय वीचको सहकार्यलाई अझ बढी प्रभावकारी बनाउँदै लैजानु पर्ने आवश्यकता औंल्याउनु भएको थियो । विश्वविद्यालयले ज्ञान दिने र प्रशिक्षण केन्द्रले सीप सिकाउने गरी दुबै संस्थाको संयुक्त प्रयासबाट दक्ष जनशक्ति तयार गर्न सकिने विचार व्यक्त गर्नु भयो ।

उक्त समारोहमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका उप-कार्यकारी निर्देशक श्री नारायण गोपाल मलेगो; भूमि सम्बन्धी समस्या समाधान आयोगका विज्ञ सदस्य श्री जगत देउजा;  धुलिखेल नगरपालिका,  काभ्रेका प्रमुख श्री अशोक व्याञ्जू श्रेष्ठ; गौरीगंगा नगरपालिका, कैलालीका उप-प्रमुख श्री अञ्चला चौधरी र भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक श्री शेषनारायण पौडेल समेत शुभकामना मन्तव्य दिनुहुँदै विभिन्न सुझाव सहित केन्द्रको उत्तरोत्तर प्रगतिको कामना समेत गर्नु भएको थियो ।

निर्देशक श्री राजेन्द्र राउतले स्वागत मन्तव्य राख्नुभएको सो समारोहमा निर्देशक श्री रमेश ज्ञवालीले केन्द्रले आ.व. २०७७/०७८ मा हासिल गरेका कार्यहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने  समारोहको अध्यक्षता गरिरहनु भएका केन्द्रका कार्यकारी निर्देशक श्री गणेशप्रसाद भट्टले समारोहमा सहभागिता जनाउनु हुने विशिष्ट महानुभावहरु लगायत सम्पूर्णमा हार्दिक कृतज्ञता ज्ञापन गर्दै केन्द्रले आगामी दिनमा चाल्ने कदमहरुका बारेमा संक्षिप्त रुपमा जानकारी गराउनु भएको थियो ।

दोश्रो चरणमा अनौपचारिक रूपमा संचालन भएको कार्यक्रममा कार्यकारी निर्देशक श्री गणेशप्रसाद भट्टले केन्द्रको लक्ष्य प्राप्तिमा सम्पूर्ण कर्मचारीहरूको उत्तिकै महत्वपूर्ण योगदान रहेको कुरालाई मनन गरी सबै कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान गर्नु भएको थियो ।